सुनसरी । नेपालले सन् २०३५ सम्म क्षयरोग (टीबी) अन्त्य गर्ने राष्ट्रिय लक्ष्यलाई मध्यनजर गर्दै कोसी प्रदेशका स्थानीय तहसम्म समुदाय परिचालनलाई प्रभावकारी बनाउने अभियान सुरु गरेको छ।
त्यसै अभियानअन्तर्गत इटहरीमा सम्पन्न दुईदिने तालिमबाट झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरका ६० जना सामाजिक परिचालक प्रशिक्षित भएका छन्।
बागमती सेवा समाज नेपालको आयोजना, कोसी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्राविधिक सहयोगमा दुई चरणमा सम्पन्न तालिममा क्षयरोगको रोकथाम, समयमै पहिचान, उपचारमा पहुँच, बिरामीको अधिकार, लैङ्गिक समानता तथा क्षयरोगसँग जोडिएको सामाजिक कलंक र विभेद न्यूनीकरणका विषयमा प्रशिक्षण दिइएको थियो।

तालिममा सहभागी सामाजिक परिचालकहरूले अब आफ्ना स्थानीय तहमा पुगेर समुदायमा क्षयरोगसम्बन्धी सचेतना फैलाउने, शंकास्पद बिरामीको पहिचानमा सहयोग गर्ने, स्वास्थ्य संस्थासम्म पहुँच बढाउने, उपचारलाई निरन्तरता दिन सहजीकरण गर्ने तथा बिरामीमाथि हुने विभेद र कलंक अन्त्यका लागि समुदायस्तरमा अभियान सञ्चालन गर्नेछन्।
स्वास्थ्यकर्मीहरूका अनुसार नेपालमा हरेक वर्ष हजारौँ नयाँ क्षयरोगका बिरामी थपिने गरे पनि सामाजिक कलंक, जानकारीको अभाव र उपचारमा ढिलाइका कारण रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ।

त्यसैले स्वास्थ्य संस्थाको सेवासँगै समुदायलाई प्रत्यक्ष परिचालन गर्नु नै सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्ने महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
कार्यक्रममा समुदाय अधिकार तथा लैङ्गिक समानता (सीआरजी) विज्ञ आशा बुढा ले क्षयरोगसँग जोडिएका सामाजिक आयाम, विभेद र कलंक, लैङ्गिक अवधारणा तथा लैङ्गिक असमानताले क्षयरोगको जोखिम, पहिचान र उपचारमा पार्ने प्रभावका विषयमा सहजीकरण गरेकी थिइन्।
साथै सहभागीहरूलाई समुदायमा अधिकारमा आधारित र लैङ्गिक रूपमा संवेदनशील क्षयरोग नियन्त्रण अभियान सञ्चालन गर्ने सीपसमेत प्रदान गरिएको थियो।
आयोजकका अनुसार कोसी प्रदेशमा सुरु गरिएको यो समुदायकेन्द्रित पहलले स्थानीय तहसम्म क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउनुका साथै सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।











