सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोसी राजमार्गमा विद्युत प्राधिकरणको स्कार्पियो दुर्घटना हुँदा विद्युत लाइन मर्मतका लागि खटिएका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कोसी प्रदेश टाफिक प्रहरी कार्यालय इटहरीका अनुसार गयराती साढे ११ बजे धरानबाट तरहरातर्फ जाँदै गरेको बा १ झ १६५१ नम्बरको नेपाल विद्युत प्राधिकरण, धरान वितरण केन्द्रको स्कार्पियो सेती पुलबाट करिब २०० मिटर दक्षिण अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ का ३२ वर्षीय वीर्खबहादुर राई र स्कार्पियोमा सवार धरान–१६ का ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए ।
उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्‍याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा धरान–२० का ३२ वर्षीय पदम राई घाइते भएका छन् ।
उनको निधार र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।
उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेको टोली विद्युत लाइन मर्मतका लागि खटिएको थियो ।
प्रारम्भिक अनुसन्धानमा स्कार्पियो तीव्र गतिमा रहेका बेला चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको सवारी इटहरीस्थित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।