सुनसरी – क्षयरोग (टीबी) रोकथाम, उपचार तथा बिरामीको अधिकार प्रवर्द्धनमा समुदायको भूमिका प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा दुईदिने तालिम सुरु भएको छ।

बागमती सेवा समाज, कोसी प्रदेशको आयोजनामा सुरु भएको "Community Rights and Gender in TB Context in Nepal" विषयक तालिममा कोसी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर जिल्लाका ६० जना सामाजिक परिचालक सहभागी छन्।

कोसी प्रदेस स्वास्थ्य निर्देशनालयको समन्वय र युएनडिपीको प्राबिधिक सहयोगमा सुरु तालिममा क्षयरोगसम्बन्धी आधारभूत जानकारी, समुदायको अधिकार, लैङ्गिक समानता, क्षयरोगसँग जोडिएको सामाजिक विभेद तथा कलंक, उपचारमा पहुँच र समुदायस्तरमा सचेतना अभिवृद्धिका विषयमा सहजीकरण गरिने  कार्यक्रम संयोजक रामप्रवेश कुमार महतोले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा सहभागीलाई समूह छलफल, अन्तरक्रियात्मक प्रस्तुति, अभ्यास तथा अनुभव आदानप्रदानमार्फत समुदायमा क्षयरोगसम्बन्धी सचेतना विस्तार गर्ने र विभेदरहित सेवा प्रवर्द्धन गर्ने विषयमा क्षमता अभिवृद्धि गराइनेछ।

आयोजकका अनुसार तालिमले सामाजिक परिचालकलाई समुदायमा क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन, बिरामीको अधिकार संरक्षण गर्न तथा लैङ्गिक संवेदनशील दृष्टिकोणबाट सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।