सुनसरी — कोशी प्रदेशस्तरीय कराते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ।

इनरुवामा शनिबार सम्पन्न प्रतियोगितामा सुनसरीले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै समग्र टिम च्याम्पियन बन्न सफल भएको हो।

प्रतियोगितामा झापाले पनि ५ स्वर्ण जिते पनि रजत पदक कम भएकाले ३ रजत र ५ कास्यसहित दोस्रो स्थानमा सीमित रह्यो।

धनकुटाले २ स्वर्ण, १ रजत र ३ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गर्यो।

प्रतियोगितामा प्रथम बनेको सुनसरीले नगद ३५ हजार रुपैयाँ, दोस्रो भएको झापाले २५ हजार रुपैयाँ र तेस्रो भएको धनकुटाले १५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशका ९ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो। विभिन्न तौल समूह र उमेर समूहमा प्रतिस्पर्धा भएका खेलमा प्रदेशभरका कराते खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

व्यक्तिगततर्फ छात्रा विधामा सुनसरीकी स्मृति चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् भने छात्रतर्फ पाँचथरका पर्वत मेन्याङ्बो उत्कृष्ट खेलाडी घोषित भए।

विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

नेपाल कराते महासंघ सुनसरीको आयोजनामा सम्पन्न प्रतियोगिताले प्रदेशका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ। यस्ता प्रतियोगिताले कराते खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास पनि आयोजकको छ।