सुनसरी — केपीएल कप अन्तराष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो क्वालिफायरमा इटहरी सुपर किङ्सले छिन्नमस्ता लायन्सलाई २ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
शनिबार भोक्राहा नरसिंह गाउँपालिकास्थित डा. खलिल आजाद क्रिकेट खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा इटहरीले अन्तिम ओभरमा लक्ष्य पूरा गर्दै उपाधि होडमा बलियो कदम बढाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो ।
छिन्नमस्ताको लागि अभिषेक कार्कीले ४८ रन बनाए । २५ बलको सामना गरेका उनले ५ छक्का र २ चौका प्रहार गरेपनि टिमलाई जिताउन सकेनन् ।
आदिल आलमले ३६ रन बनाउँदा सन्तोष कार्कीले १४, अविनाश कर्णले १३, दिपेश कँडेलले ११ र बिशाल सुस्लिङले १० रन बटुले ।
दिपक डुम्रे र सुजन थपलियाले ३–३ विकेट हात पारे । जवाफमा १५२ रनको लक्ष्य पछ्याएको इटहरीले १९.२ ओभरमा ८ विकेट गुमाउादै लक्ष्य भेट्टायो ।
इटहरीको जितमा सुजन थपलियाले उत्कृष्ट ४१ रनको योगदान दिए । उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै टोलीको इनिङ्स सम्हाले ।
आकाश सर्राफले ३० रन जोडे भने अर्जुन घर्तीले १८ र शुभ कंसाकारले १२ रनको योगदान दिए ।
अन्तिम समयमा भुपाल लुइटेलले अविजित २४ रन बनाउँदै टोलीलाई रोमाञ्चक जित दिलाए । उनले १४ बलमा ३ छक्का प्रहार गर्दै दबाबको अवस्थामा उत्कृष्ट फिनिसिङ गरे ।
बलिङतर्फ छिन्नमस्ताका प्रेम कामतले महत्वपूर्ण ४ विकेट लिए पनि इटहरीलाई जितबाट रोक्न सकेनन् ।
यस जितसँगै इटहरी सुपर किङ्स सिधैं फाइनलमा प्रवेश गरेको छ ।
पराजित छिन्नमस्ता लायन्सले भने एलिमिनेटर खेलको बिजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनल पुग्ने अर्को अवसर पाउनेछ ।
एलिमिनेटर खेलमा अहिले दुई भारतीय टिम आरएमएल स्पोर्टस एकेडेमी र केसीसीबीच प्रतिष्पर्धा जारी छ ।











