सुनसरी– गृहमन्त्री सुदन गुरुङ शनिबार सुनसरी र मोरङका विभिन्न प्रशासनिक तथा सुरक्षा निकायको स्थलगत अनुगमनमा व्यस्त रहेका छन्।

बिहान विराटनगर आइपुगेका उनले जिल्ला प्रशासन कार्यालयदेखि कारागार र प्रदेश प्रहरी कार्यालयसम्म पुगेर सेवा प्रवाह, सुरक्षा व्यवस्था र प्रशासनिक गतिविधिको निरीक्षण गरेका छन्।

गृहमन्त्री गुरुङ शनिबार बिहान १० बजेर ५७ मिनेटमा बुद्ध एयरको विमानमार्फत विराटनगर विमानस्थलमा अवतरण गरेका थिए।

विमानस्थलबाट सिधै उनी जिल्ला प्रशासन कार्यालय मोरङ, कारागार कार्यालय तथा कोशी प्रदेश प्रहरी कार्यालय पुगेर त्यहाँको कार्यसम्पादन, सुरक्षा अवस्था र सेवा प्रवाहबारे जानकारी लिएका हुन्।

विराटनगरको निरीक्षणपछि गृहमन्त्री गुरुङले सुनसरीको इटहरीस्थित पकलीमा रहेको सशस्त्र प्रहरी बलको कोशी प्रदेश मुख्यालयको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

त्यहाँ उनले सीमा सुरक्षा, विपद् व्यवस्थापनको तयारी, जनशक्ति परिचालन तथा सुरक्षा संयन्त्रको अवस्थाबारे जानकारी लिने जनाइएको छ।

विराटनगरस्थित एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्रीको विस्तृत भ्रमण तालिका औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

भ्रमणका क्रममा उनी झापा, मोरङ र सुनसरीका सीमा सुरक्षा, विपद् पूर्वतयारी, शान्ति–सुरक्षा अवस्था तथा प्रशासनिक गतिविधिबारे स्थलगत जानकारी लिने सम्भावना रहेको सुरक्षा स्रोतले जनाएको छ।

यद्यपि गृह मन्त्रालयले भ्रमणको आधिकारिक कार्यतालिका सार्वजनिक नगरेकाले गृहमन्त्रीले थप कुन–कुन स्थानको निरीक्षण गर्ने भन्ने विषय खुलाइएको छैन।

सुरक्षा अधिकारीहरूका अनुसार भ्रमणको संवेदनशीलतालाई ध्यानमा राख्दै गृहमन्त्रीको कार्यक्रम सार्वजनिक नगरिएको हो।

भ्रमणका क्रममा सुरक्षा निकायको कार्यसम्पादन, सेवा प्रवाहको प्रभावकारिता तथा सम्भावित विपद् व्यवस्थापनको तयारीबारे विशेष रूपमा समीक्षा भइरहेको जनाइएको छ।