सुनसरी — युवालाई लागूऔषध दुर्व्यसनविरुद्ध सचेत, जिम्मेवार र प्रतिबद्ध बनाउन इटहरीमा “लागूऔषध विरुद्ध युवा अभियान” कार्यक्रम गरिएको छ।

“अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नारासहित इलाका प्रहरी कार्यालय इटहरी र फ्यान जिल्ला कार्यसमिति सुनसरीको संयुक्त आयोजनामा  कार्यक्रम गरिएको हो।

शुक्रबार आयोजित “लागूऔषध विरुद्धको अभियानमा युवा” शीर्षकको कार्यक्रममा इटहरीका करिब १ हजार विद्यार्थी सहभागी भएका थिए।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेको प्रमुख आतिथ्यता तथा सुनसरी प्रहरी प्रमुख एसपी केशव थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पन्न भएको थियो।

कार्यक्रममा मनोपरामर्शकर्ता डा. रबिन कटवाल ले प्रशिक्षण दिँदै लागूऔषधको प्रयोगले युवाको मानसिक, सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रमा पार्ने गम्भीर असरबारे जानकारी गराएका थिए।

उनले युवालाई दुर्व्यसनको जालमा नफस्न आत्मनियन्त्रण, सही संगत र परिवारको भूमिका महत्वपूर्ण हुने बताएका थिए।

आयोजकका अनुसार पछिल्लो समय युवावर्गमा लागूऔषधको पहुँच र प्रयोग बढ्दो क्रममा रहेकाले त्यसलाई नियन्त्रण गर्न सचेतना नै प्रभावकारी माध्यम हुने विश्वास गरिएको छ। अभियानमार्फत विद्यार्थी र युवालाई गलत संगतबाट टाढा रहन, आत्मअनुशासनमा बस्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीलाई “म लागूऔषधमुक्त जीवन जिउन प्रतिबद्ध छु” भन्ने सन्देशलाई आत्मसात गर्न आग्रह गरिएको थियो।

आयोजकले यो अभियानले युवामा दुर्व्यसनविरुद्ध सकारात्मक सोच विकास गर्न, परिवार र समाजमा सचेतना फैलाउन तथा लागूऔषधमुक्त समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

अभियान आगामी दिनमा जिल्लाका विभिन्न विद्यालय र समुदायस्तरमा विस्तार गरिने जनाइएको छ।