सुनसरी ।  प्रदेश सरकारको बजेटमा देखिएका समस्याको समाधान प्रदेशसभाबाटै खोज्न नेकपा कोशी प्रदेश संसदीय दलले माग गरेको छ।

संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विज्ञप्ति जारी गर्दै बजेटका विषयमा संसद्‌मा छलफल नगराई बन्दकोठाभित्र वा चोरबाटोबाट सच्याइए स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

कोशी प्रदेशसभामा सरकारले पेस गरेको बजेट असन्तुलित भएको भन्दै सत्तापक्षका सांसदहरूले नै विरोध गरेपछि प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन । बजेटका विषयमा सहमति नजुटेपछि असार ११ गतेका लागि बोलाइएको बैठक सरकारकै आग्रहमा पटक(पटक सर्दै आएको छ।

संसद्‌मा बजेटका विषयमा छलफल नगराएको भन्दै नेकपाले बजेटजस्तो संवेदनशील विषयमा छलफल गराउन नचाहनु संसदीय गरिमा र लोकतान्त्रिक मूल्य(मान्यताको उल्लङ्घन भएको आरोप लगाएको छ।

विज्ञप्तिमा बजेट पेस भएको केही दिनमै सत्तापक्षकै सांसदहरूले विरोध गर्नु र स्वयं मुख्यमन्त्रीले सार्वजनिक रूपमै ‘बजेट बिग्रिएको’ स्वीकार गर्नुले यो बजेट नैतिक, वैधानिक र व्यावहारिक रूपमा असफल भइसकेको दाबी गरिएको छ। पहुँचवाला मन्त्री र सीमित नेताका निर्वाचन क्षेत्रमा मात्र बजेट थुपारेर नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिइएको आरोपसमेत लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो बजेट बिचौलियामुखी र हचुवाका भरमा बाँडिएको वितरणमुखी मात्र भएकाले यसले कुनै परिणाम दिन सक्दैन ।’

बजेटलाई संसद्‌को रोस्टम, संसदीय विधि र पारदर्शी प्रक्रियाद्वारा संसद्‌भित्रैबाट सच्याउन विज्ञप्तिमामार्फत जोडदार माग गरिएको छ।