सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको पदाधिकारी निर्वाचन पनि सम्पन्न भएको छ । पहिलो चरणमा सभापतिको निर्वाचन सम्पन्न भएको थियो ।
अधिवेशनमा सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएको हो ।
निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदानमा कुल २४३ मत खसेको थियो । मतगणनाबाट उपसभापतिमा होमराज दाहाल १४१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी गोविन्द भट्टराईले ९७ मत प्राप्त गरेका छन् ।
यस्तै,महामन्त्री पदमा निरज कटवाल १५० मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी लक्ष्मण भण्डारीले ८५ मत प्राप्त गरेका छन् ।
दुई सहमहामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा सुरेन्द्र कार्की १४६ र मञ्जरी घिमिरे ९५ मत प्राप्त गर्दै निर्वाचित भए ।
सहमहामन्त्री पदका अन्य उम्मेदवारहरू बिन्दु सिटौला (लक्की) ले ७५, सम्झना खातीले ३७, जुनाल गदालले ३८, युवराज खतिवडाले ३८ र भगवती रोका कार्कीले ३१ मत प्राप्त गरेका थिए ।
यसअघि सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदमा चन्द्रबहादुर राई निर्वाचित भइसकेका छन् ।











