इटहरी । व्यवस्थापन र आतिथ्य क्षेत्रको अध्ययन रोज्ने विद्यार्थीको संख्या बढ्दै गइरहेका बेला इटहरीस्थित प्रिमियर होटल स्कुलले नयाँ शैक्षिक सत्रका विद्यार्थीलाई करिअर केन्द्रित अभिमुखीकरणसहित स्वागत गरेको छ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई बिहीबार आयोजित कार्यक्रममा स्वागत गर्दै स्कुलले अध्ययनसँगै व्यावहारिक सीप, अनुशासन र व्यावसायिक दक्षता विकासलाई प्राथमिकतामा राखेको सन्देश दिएको हो।

कार्यक्रममा प्राचार्य सुवास लुइटेलले बदलिँदो रोजगारी बजारमा प्रतिस्पर्धी बन्न विद्यार्थीले स्पष्ट लक्ष्य निर्धारण गरी अध्ययनमा केन्द्रित हुनुपर्ने बताए।

उनले गुणस्तरीय शिक्षा र सीपमूलक प्रशिक्षणमार्फत विद्यार्थीको भविष्य निर्माणमा संस्था प्रतिबद्ध रहेको उल्लेख गरे।

स्कुलका अध्यक्ष मुकुन्द धमलाले आतिथ्य र व्यवस्थापन क्षेत्र अवसरले भरिपूर्ण क्षेत्र भएकाले विद्यार्थीलाई जिम्मेवार, अनुशासित र आत्मनिर्भर बनाउने वातावरण विद्यालयले निर्माण गरेको बताए।

उनले संस्थामा सबै विद्यार्थीलाई एउटै परिवारका सदस्यका रूपमा विकास गर्ने संस्कार रहेको उल्लेख गरे।

कार्यक्रममा विद्यार्थीलाई कलेजको शैक्षिक प्रणाली, अनुशासन, प्रयोगात्मक कक्षा, उद्योगसँगको सहकार्य तथा विभिन्न अतिरिक्त क्रियाकलापबारे जानकारी गराइएको थियो। सांगीतिक तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

आतिथ्य तथा व्यवस्थापन शिक्षामा केन्द्रित प्रिमियर होटल स्कुलले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, बिजनेस स्टडिज, इकोनोमिक्स र कम्प्युटर साइन्स विषय अध्यापन गर्दै आएको छ।

त्यस्तै व्यावसायिक शिक्षाअन्तर्गत कुलिनरी आर्ट्स, होटल म्यानेजमेन्ट र इन्फर्मेसन टेक्नोलोजीका डिप्लोमा कार्यक्रम सञ्चालन गरिरहेको छ।

विद्यालयका अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी उद्योगमै काम गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ अत्याधुनिक प्रयोगशाला, आफ्नै प्राक्टिकल रेस्टुरेन्ट, इन्टर्नसिप तथा उद्योग–संस्थासँगको सहकार्यलाई जोड दिइएको छ।

पर्यटन, होटल तथा सेवा क्षेत्रको विस्तारसँगै दक्ष जनशक्तिको माग बढिरहेका बेला यस्ता शैक्षिक संस्थाले अध्ययन र रोजगारीबीचको दूरी घटाउने प्रयास गरिरहेका छन्।

प्रिमियर होटल स्कुलले पनि विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारी बजारसँग जोड्दै व्यावसायिक शिक्षालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।