सुनसरी । काठमाडौँमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल सुनसरीका खेलाडीहरूलाई सम्मान गरिएको छ ।
सुनसरी जिल्ला खेलकुद विकास समितिले इटहरी रङ्गशालामा आयोजित एक कार्यक्रममार्फत पदक विजेता खेलाडीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले खेलाडीहरूलाई सम्मान गर्दै अघिल्लो संस्करणमा पदकविहीन बनेको कोसी प्रदेशले यस पटक उल्लेखनीय सुधार गरेको बताए ।
उनले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा हासिल गर्न थप मेहनत र तयारी आवश्यक रहेको धारणा राखे ।
१६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र १७ कांस्य साथ पाँचौँ स्थान हासिल गरेको कोसी प्रदेशबाट सहभागी सुनसरीका दुई खेलाडीले स्वर्ण पदक जितेका थिए भने चार खेलाडीले समान रूपमा चार–चार रजत तथा कांस्य पदक हात पारेका थिए ।
स्वर्ण पदक जित्नेमा तेक्वान्दोको छात्रा पुम्से विद्याबाट युमी राई र कराँतेको ४५ केजी तौलमा हिरा मगर रहेका छन् ।
त्यस्तै करातेमा प्रमोद राईले २ रजत र उसुमा अजिब राई र तेक्वान्दोमा रिसिका भुजेलले एक–एक रजत जितेका थिए ।
सोहेल मन्सुरीले ज्याबलिङथ्रो, करातेबाट निरोज थापा, उसुबाट निमोसा याख्खा र तेक्वान्दोबाट लेसन राईले काश्य पदक जितेका थिए ।
कार्यक्रममा पदक विजेता खेलाडीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरिएको थियो ।