इटहरी । राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित दन्त शिविरमा ४६४ जनाको दाँत परीक्षण गरिएको छ ।
सात दिने पोषण सप्ताह कार्यक्रमअन्तर्गत विद्यालयको स्काउट दलले एक दिने दन्त शिविर आयोजना गरेको हो । शिविरमा कक्षा १ देखि ५ सम्मका ३९२ जना विद्यार्थीको दन्त परीक्षण गरिएको थियो ।

यस्तै, अभिभावक, शिक्षक र कर्मचारी ७२ जनाले दन्त परीक्षण सेवा लिएका छन् । कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालय स्काउट शिक्षिका वन्दना दाहालको सभापतित्वमा भएको थियो ।

यस्तै, प्रमुख अतिथिका रूपमा विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेत रहेका थिए । कार्यक्रममा इटहरी युथ ओपन क्र्यूका स्वयंसेवक टोलीको समेत सक्रिय सहभागिता रहेको थियो ।

शिविरमा कोशी डेन्टल हस्पिटल प्रालि इटहरीले प्राविधिक सहयोग गरेको थियो । दाहालका अनुसार स्काउट दलले वर्षेनी सिर्जनात्मक कार्य गर्दै आएको छ । अघिल्लो वर्ष स्काउट दलकै अगुवाईमा वृहत्त रक्तदान गरेको थियो ।