सुनसरी– मोरङको जहदा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६० करोड २७ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ ।
प्रशासनिक तथा सञ्चालन खर्चका लागि नौ करोड ३१ लाख ६४ हजार, कार्यक्रम तथा योजनामा २३ करोड ४९ लाख २६ हजार र सशर्त, समपूरक तथा विशेष अनुदान तर्फको योजना तथा कार्यक्रममा २७ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उपाध्यक्ष हन्ना सोरेनले ६० करोड २७ लाख ९० हजार रुपैयाँ स्रोतको अनुमान गर्नुभएको छ । आन्तरिक आय तर्फ आठ करोड १७ लाख ९६ हजार, सङ्घीय सरकारबाट समानिकरण अनुदान १२ करोड १९ लाख, सशर्त अनुदान २४ करोड दुई लाख, समपूरक अनुदानबाट एक करोड ६५ लाख, राजश्व बाँडफाँडबाट १० करोड ४६ लाख ५७ हजार, प्रदेश सरकार समानिकरण अनुदानबाट एक करोड १५ लाख ८८ हजार प्रदेश सरकार राजश्व बाँडफाँडबाट ८१ लाख ४९ हजार रुपैयाँ प्राप्त हुने बजेटमा अनुमान गरिएको छ ।
उपाध्यक्ष हन्ना सोरेनबाट आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक आय तथा व्ययको अनुमान सार्वजनिक गर्नुअघि अध्यक्ष जितेन्द्र प्रसाद साहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँ सभामा पेस गर्नुभयो । “समृद्ध जहदाको आधार ः शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र दिगो पूर्वाधार” नाराका साथ अध्यक्ष साहले कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमले सार्वजनिक गर्नुभएको छ ।
न्यून आयस्रोतका बाबजुद जहदा गाउँपालिकालाई उत्कृष्ट र नमुना गाउँपालिकाको रूपमा विकास गर्ने अध्यक्ष साहले घोषणा गर्नुभएको छ ।
भूमिहीन सुकुम्वासीहरूको यथोचित व्यवस्थापन गर्ने, किसानलाई प्रविधिसँग जोड्दै कृषिमा आधुनिकीकरण गर्ने र सडकमा पहुँचमा नभएका बस्तीहरूलाई मूल सडकसँग जोड्दै योजनाबद्ध सहरीकरण तथा बस्ती विकासलाई प्राथमिकतामा नीति तथा कार्यक्रमले राखेको छ ।
गाउँपालिकाबाट योजना निर्माण गर्दा आवश्यकता र नागरिकको मागमा आधारित योजनाहरूलाई प्राथमिकता राखेर बजेटमा समावेश गरिएको छ । प्राविधिक शिक्षा पढ्न चाहने एस.ई.ई. उत्तीर्ण भएका जहदा गाउँपालिका भित्रका गरिब जेहेन्दार, पिछडिएका तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई शैलजा आचार्य पोलिटेक्निक स्मृति प्रतिष्ठानमा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने कार्यलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।