सुनसरी–दुहबी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार सुरु भएको १७ औँ नगर सभाले ९३ करोड ६४ लाख ५६ हजार ८ सयको बजेट सार्वजनिक गरेको हो ।
नगरपालिकाले चालुतर्फ २१ करोड ९२ लाख ७० हजार र पुँजीगत तर्फ ७१ करोड ७२ लाख ८६ हजार ८०० रुपैयाँको विनियोजन गरेको छ । नगरपालिकाले आफ्नो बहुबर्षे योजनामा बहुउपयोगि व्यापारिक भवन बनाउने योजना अगाडी सारेको छ । १७ औँ  नगर सभामा बजेट प्रस्तुत गर्दै उपमेयर मेनुका खतिवडाले बहुउपयोगि भवन निर्माणको लागि ९ करोड १७ लाख बजेट विनियोजन गरेको बताइन् । 
सार्वजनिक निजी साझेदारी मोडेलमा कम्प्लेक्स निर्माण गर्न लागिएको र त्यस बापत पालिकाले आम्दानी गर्ने उनको भनाइ छ ।
उक्त भवन बनाउनका लागि नगरपालिकाले अतिक्रमित जग्गा गत बर्सनै बल प्रयोग गरी खाली गराएको थियो । विगत बर्षदेखीनै खेलकुदलाई प्राथमिकता दिएको नगरपालिकाले निर्माणाधीन दुहबी रङ्गशालाका लागि १ करोड ९७ लाख विनियोजन गरेको छ ।
आधारभूत स्वास्थ्य सेवाको लागि ६ करोड ९६ लाख विनियोजन गरेको नगरपालिकाले  विपन्न तथा गरिब जनतालाई निःशुल्क स्वास्थ्य बिमा तथा निःशुल्क मोतिया विन्दु र जलविन्दुको अपरेसन गर्ने योजना सारेको छ । 
१२ वडामा समेटिएको दुहबी नगरपालिकालाई प्रतिवडा ९० लाखको सिलिङ तोकिएको छ । औद्योगिक नगरीकोरुपमा परिचित दुहबीले छिमेकी बुढिगंगा गाउँपालिका सँग मिलेर सार्वजनिक निजी साझेदारीमा फोहोर मैला व्यवस्थापन गर्ने उल्लेख गरेको छ ।
स्थानीय उद्योगलाई समेत फोहोर मैला व्यवस्थापनमा थप कडाइ गर्ने पालिकाले नीति लिएको जनाएको छ ।
औद्योगिक प्रदूषण बढेको भन्दै नगरवासी पटक पटक आन्दोलित बनेपछि नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रदूषण घटाउने नीति कडाइका साथ लागु गर्ने भएको हो ।
नगर सभाको अवसरमा ४ जना उत्कृष्ट कर्मचारी र एक उद्योगलाई सम्मान गरिएको थियो ।