सुनसरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोर अन्तर्गत इटहरी–१२ मा रहेको तिरुपति प्लाइउड उद्योगमा लागेको आगलागी ३२ घण्टापछि आज बिहान १० बजे नियन्त्रणमा आएको छ ।
बुधवार बिहान २ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिन झन्डै दुई दिनसम्म लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
आगो नियन्त्रणका लागि सुनसरी र मोरङका विभिन्न स्थानीय तहका एक दर्जन दमकल परिचालन गरिएको थियो । दमकल टोली र तीन वटै सुरक्षा निकायको टोली आगो नियन्त्रणको लागि बुधवार दिनभर प्रयास गरे पनि उद्योग भित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, क्यामिकल लगायतका सामग्री भएकाले नियन्त्रणमा आउन सकेको थिएन ।
कोसी राजमार्गसँगै जोडिएको उक्त उद्योग करिब ३ बिघा क्षेत्रफलमा फैलिएको छ । उद्योगमा ठुलो मात्रामा प्लाइउड र काठहरू भण्डारण गरेर राखिएकाले आगलागी नियन्त्रणमा लिन समय लागेको प्रहरीको भनाई छ ।
बिधुत सर्ट भएर आगलागी भएको आशङ्का गरिएको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि २०७७ चैत्र २३ गते पनि उक्त उद्योगमा आगलागी भएको थियो । त्यो बेला पनि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिन दुई दिन बढी समय लागेको थियो ।