सुनसरी । जुट खेतीप्रति किसानको आकर्षण घट्दै गएपछि इटहरीमा रहेको जुट बाली अनुसन्धान कार्यालयले थप दुई नयाँ जातको बिउ विकास गरेको छ ।
यसअघि कार्यालयले दुई दशकपछि गत आर्थिक वर्षमा दुई नयाँ जातको बिउ परीक्षण गरी मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहाका किसानका लागि वितरण गरेको थियो ।

त्यस लगत्तै अनुसन्धान केन्द्रले यसै आर्थिक वर्षको अन्त्यमा इटहरी ४ र इटहरी ८ नामको थप २ जातको बिउँ सिफारिस गर्न लागेको हो । यी बिउ तराईको मौसम अनुकूल भएका कारण किसानहरूको लागि निक्कै फलदायी हुने जुट बाली अनुसन्धान कार्यालय इटहरीका संयोजक डा. सन्तोषराज त्रिपाठीले जानकारी दिए ।

जुट बाली अनुसन्धान कार्यक्रम अन्तर्गत केन्द्रले प्रत्येक वर्ष जुटको नयाँ जात विकास गर्नुपर्ने भए पनि २०५८ सालपछि रोकिएको थियो । कार्यालयले ढिलै भए पनि जुटको थप नयाँ तथा उन्नत जातको बिउ विकास गर्दा किसानहरू लाभान्वित हुनेछन् ।
जुटको बिउ अभावका कारण किसानहरू पुरानै र भारतीय कमसल बिउ लगाउन बाध्य थिए ।