सुनसरी । आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै युनाईटेड खर्साङ फुटबल क्लब युकेएफसी २५ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा पाहुना टोली युनाईटेड खर्साङ फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई सडेन डेथमा ७–६ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

     निर्धारित समयमा दुबै टिमबाट १–१ गोलको बराबरी भएपछी समय अभावका कारण खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा दुबै टिमबाट ५–५ गोल भएपछी खेल सडेन डेथमा धकेलिएको थियो । सडेन डेथमा धरानका प्रज्वल थापाले गोल गरेपनि मनोज राईको प्रहार खेर गयो । युकेएफसीका आकाश प्रधान र हेमराज भुजेलको प्रहारले जाली चुमेपछी पाहुना टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । 

         त्यसअघि निर्धारित समयको १८ औं मिनेटमा भुजेलको गोलबाट युकेएफसीले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा आयोजक क्लबका बिनोद राई गोल फर्काएपछी खेल १–१ को बराबरीमा आएको थियो । पहिलो हाफमा १–१ को बराबरी खेलेका दुबै टिमबाट दोस्रो हाफमा गोल हुन नसकेपछी खेल पेनाल्टी सुटआउट हुदै सडेन डेथमा धकेलिएको थियो । 

        सेडन डेथमा निर्णायक गोल गरेका भुजेल खेलको म्यान अफद म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । बिजेता युकेएफसीले न्युरोड टिम एनआरटी र काकडभिटा फुटबल टेनिङ सेन्टर झापाबिच मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेलको बिजेतासंग बिहिबार सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ । आइतबारको जीतसंगै युकेएफसीले २४ औं संस्करणमा आयोजक धरान फुटबल क्लबसंग ब्यहोरेको हारको बदला समेत लिएको छ ।

गत संस्करणमा युकेएफसी आयोजकसंग सडेन डेथमा १०–९ गोल अन्तरले पराजित भएको थियो । तर २३ औं संस्करणको उद्घघाटन खेलमा भने आयोजक धरान फुटबल क्लबलाई युकेएफसीले पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गरेको थियो । सोमबार हुने तेस्रो क्वाटरफाइनलमा भुटानको आरटीसी फुटबल क्लब र इटहरीको राष्टिय जागृती क्लबबिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।