​विराटनगर। धनकुटामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भनेँ १० जना घाईते भएका छन्। छथरजोरपाटी गाउँपालिका ३ बञ्चरेस्थित भित्री सडक खण्डमा आज बिहान सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका हुन्।

​काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो गाडी बिहान  ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी छथरजोरपाटी गाउँपालिका-३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

​प्रहरीले सबै घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ। प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते हुनेमा छथरजोरपाटी(३ का २१ वर्षीय आशिष लिम्बु रहेका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ।

​त्यस्तै,  चालक धनकुटा नगरपालिका-९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, छथरजोरपाटी-४ की ४० वर्षीया धनमाया राई, उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बा, २ वर्षीया छोरी आरध्या लिम्बु, सोही ठाउँका २६ वर्षीय आइन्द्र लिम्बु र ३० वर्षीय अबिन लिम्बु रहेका छन्। साथै छथरजोरपाटी-३ का २७ वर्षीय भवानी लिम्बु र ४७ वर्षीय हेमबहादुर लिम्बु  घाइते भएका छन्। घाइतेमध्ये छथरजोरपाटी-४ की ३३ वर्षीया पुनम लिम्बुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।