सुनसरी । सुनसरीको धरान स्थित विजयपुर दरबार क्षेत्रको वैज्ञानिक उत्खनन् गर्दै विस्तृत ऐतिहासिक अध्ययन गर्न माग गरिएको छ । दरबार क्षेत्रलाई भविष्यमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले पुरातत्व विभागसँग समन्वय गर्दै विस्तृत अध्ययनको प्रकृया सुरु गर्न माग गरिएको हो । 

धरानमा सम्पन्न लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिले ५ बुँदे धरान घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । 

सङ्घका केन्द्रीय अध्यक्ष सन्देश सुब्बाद्वारा हस्ताक्षरित घोषणापत्रमार्फत धरानको ऐतिहासिक विजयपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नेसहित विभिन्न महत्त्वपूर्ण मागहरू अघि सारिएका छन्।

घोषणापत्रको चौथो बुँदामा ऐतिहासिक राजधानी विजयपुर दरबारको पुरातात्त्विक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्दै भविष्यमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने दीर्घकालीन योजना बनाउन माग गरिएको छ। यसका लागि पुरातत्त्व विभागसँग समन्वय गरी उत्खनन, सीमाङ्कन र अभिलेखीकरणका लागि स्थानीय तथा सङ्घीय सरकारले अध्ययन प्रक्रिया यथाशीघ्र अघि बढाउन आग्रह गरिएको छ।

यसैगरी, घोषणापत्रको तेस्रो बुँदामा भाषा आयोगले २०७८ मा कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गर्न गरेको सिफारिस हालसम्म कार्यान्वयन नभएकोमा असन्तोष व्यक्त गरिएको छ। सङ्घले उक्त सिफारिस अविलम्ब कार्यान्वयनमा ल्याउन प्रदेश सरकारसँग जोडदार माग गरेको छ।

सरकारले निजी पत्रपत्रिकाहरूलाई दिँदै आएको लोककल्याणकारी विज्ञापन रोक्ने नीतिप्रति पनि सङ्घले असन्तोष जनाएको छ। विज्ञापनमा लगाइएको नाकाबन्दीका कारण विशेष गरी स्वरोजगारमूलक मिडिया हाउसहरू गम्भीर मारमा परेको उल्लेख गर्दै तीनै तहका सरकारबाट निष्पक्ष रूपमा विज्ञापन उपलब्ध गराउन र सोको भुक्तानी दिन माग गरिएको छ।

 साथै, नेपालमा मातृभाषाको पत्रकारितालाई प्रवर्द्धन गर्न तीनै तहका सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको छ।

घोषणापत्रमार्फत भदौ १० गते भोटेकोसीमा आएको प्रलयकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी, उद्धार तथा प्रभावितहरूको राहत र पुनर्स्थापनामा तदारुकताका साथ काम गर्न सरकारसँग आग्रह गरिएको छ।