सुनसरी । धरान फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा विजयी सुरुवात गरेको छ । सुनसरीको वराहक्षेत्र ५ मा शुक्रवार सम्पन्न उद्घाटन खेलमा धरानले पाहुना टोली आमुक्त परिवार भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । धरानको जीतमा कप्तान दोर्जे तामाङ र एन्सन राईले एक एक गोल गरे । तामाङले खेलको ३५ औँ र राईले ८१ औँ मिनेटमा गोल गरेका हुन । भारतीय टिमको तर्फबाट कुञ्जमान थापाले खेलको ६१ औँ मिनेटमा १ गोल फर्काए । खेलको म्यान अफ द म्याच धरानका एन्सन राई घोषित हुँदै नगद ५ हजार पाए । 
mo m
    धरानले अब सेमिफाइनलमा प्लानिङ ब्वाइज युनियन काठमाडौँ र हनामी बि एफसी चितवनबिच आइतबार हुने तेस्रो क्वाटरफाइनल खेलको विजेतासँग आगामी चैत २७ गते प्रतिस्पर्धा गर्नेछ । शनिवार हुने दोस्रो क्वाटरफाइनल खेलमा आयोजक न्यु स्टार फुटबल क्लब र कञ्चनजंगा फुटबल क्लब भारतबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 
       चैत्र ३० गतेसम्म चल्ने प्रतियोगितामा दुई भारतीय सहित ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले २ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए । प्रत्येक खेलका म्यान अफ द म्याचले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट हुनेले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ४१ लाख खर्च हुने बताइएको छ ।