सुनसरी - नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर प्रशिक्षक मनिष तिम्सिना नगद सहित सम्मानित भएका छन् ।
कोसी प्रदेश फुटबल संघले बिहीबार धरानमा एक कार्यक्रमको आयोजना गरी तिम्सिनालाई भारतीय फुटबल लिगमा समेत आफ्नो टिमलाई च्याम्पियन बनाउँदै नेपालीहरूको शिर उचो बनाएको भन्दै सम्मान गरेको हो ।
तिम्सिनालाई कोसी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई तथा कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले नगद १० हजार सहित सम्मान गरे ।
संघले नेपाली फुटबलको इतिहासमै सन २०२१ बाट ए एफसी गोल किपर लेभल ए पास गर्ने पहिलो प्रशिक्षक स्थान प्राप्त गर्ने प्रशिक्षक रहेको भन्दै अन्तराष्टियस्तरमा कोसी प्रदेशको मात्र नभई नेपालकै इज्जत बढाएको उल्लेख गरेको छ ।
तिम्सिनाले सन २०१५ देखी सुरु भई २०२१ मा ए एफसी ए लाइसेन्स प्राप्त गरेका थिए । उनले प्रशिक्षण गराएको गोकुलम केरेला फुटबल क्लब भारतीय फुटबल लिगमा च्याम्पियन बनेको थियो ।
विराटनगर ९ निवासी तिम्सिनाले २०५६ साल देखी बिद्यालयस्तरीय फुटबल खेल्दै काठमाण्डौको हिमालयन शेर्पा, ब्रिगेड ब्वाइज लगायतका क्लबबाट खेलिसकेका छन् ।
एक दशक यता उनी खेलाडी जीवनलाई विश्राम दिँदै प्रशिक्षकको रूपमा स्थापित भएका छन् ।