सुनसरी - कोसी प्रदेशमा ६० जना डी लाइसेन्स प्राप्त फुटबल प्रशिक्षकहरू उत्पादन भएका छन् ।
कोसी प्रदेश फुटबल संघको आयोजनामा चार दिन अघि धरानमा सुरु भएको एन्फा डी कम्युनिटी कोचिङ कोर्सबाट ६० जना प्रशिक्षक उत्पादन भएका हुन ।
फुटबलको उर्वर भूमि मानिएको पूर्वमा कोचको अभाव टार्न तथा खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले गत सोमबार सुरु भएको कोर्समा उत्तिणर् प्रशिक्षार्थीहरूलाई बिहीबार लाइसेन्स वितरण गरिएको हो ।
सहभागी प्रशिक्षार्थीहरूलाई संघका अध्यक्ष किशोर राई र कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रमाणपत्र वितरण गरे ।
फुटबलको प्रशिक्षणको पहिलो खुड्किलोको रूपमा रहेको डी लाइसेन्स प्राप्त उनीहरूले अब सी लाइसेन्सका लागि योग्य हुने छन् । कोसी प्रदेशका विभिन्न ११ जिल्लाका सहभागी उनीहरूलाई अखिल नेपाल फुटबल संघ एन्फाका प्रशिक्षण विभाग प्रमुख सञ्जित सिंह र हरि खड्काले प्रशिक्षण गराएका थिए ।
यसअघि प्रदेश फुटबल संघले सी लाइसेन्स कोर्स गरिसकेको र अब बी लाइसेन्स कोर्सको तयारी गरिएको कोसी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए ।