सुनसरी — बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको फाइनलमा काठमाडौंको एनआरटीले जिल्ला फुटबल संघ मोरङ टिमविरुद्ध शनिबार प्रतिस्पर्धा गर्दै छ । 

धरान–१६ स्थित धरान रंगशालामा हुने फाइनल प्रतिस्पर्धात्मक हुने दुवै टिमको दाबी छ । फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले उपाधि जित्ने दाबी गरे । दुवै कप्तानले एकले अर्कोलाई कमजोर नआँक्ने बताए ।

पहिलो पटक फाइनल पुगेको मोरङ नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको कप्तान अशोक खवासले बताए । यसअघि १० औं संस्करणको उपाधि जितेको एनआरटी १६ वर्षअघिको इतिहास दोहोर्‍याउन सक्षम रहेको कप्तान पूजन होनाको दाबी थियो ।

hhhh

एनआरटीले यस सिजनमा इलाम गोल्डकप जित्नुका साथै मकवानपुर र केपी ओली कप उपविजेता भएको थियो । यसले गर्दा आफ्ना खेलाडीहरू धरानमा उपाधि जित्न सक्षम रहेको टिम म्यानेजर रमेश लामा बताउँछन् । उनले भने, शटिममा युवा खेलाडीको बाहुल्य रहनुका साथै टिमवर्क पनि राम्रो भएको कारण फाइनल जित्नेमा हामी ढुक्क छौं ।’

अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उपाधि दाबेदार मोरङका प्रशिक्षक राजु रानामगर बताउँछन् । उनले भने, ‘एनआरटी राम्रो र बलियो टिम भए पनि हामीले विभागीय टिमलाई पराजित गरिसकेकाले उच्च मनोबल बोकेर मैदान उत्रन्छौं, त्यसले नतिजा हाम्रो पक्षमा पार्नेछौं ।’

kkk

मोरङका कप्तान अशोक खवासले अघिल्ला खेलको कमीकमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्ने बताए । इटहरी गोल्डकपमा लगातार दुई संस्करण जित्ने टिमका अधिकांश खेलाडी रहेकाले आफूहरूको मनोबल रहेको उनको भनाइ थियो ।

मोरङले सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ५–४ ले पराजित गरेको हो । टोलीले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० ले रोकेको थियो । एनआरटी गत संस्करणको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै मोरङसँगको उपाधि भिडन्त पक्का गरेको हो । एनआरटीले क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई २–१ ले पराजित गरेको थियो ।

विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्नेछन् । उत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ताले ३५ हजार र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।