सुनसरी । आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै एन्फा मोरङ २४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा बुधवार भएको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई  पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै एन्फा मोरङ उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिएको हो ।
पेनाल्टीमा धरानका मिलन राईको प्रहार मोरङका गोल किपर पूर्ण चेम्जोङले रोकपछी धरान पराजित बन्न पुगेको हो । धरानका दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम जिमीले मात्र गोल गरे । मोरङको तर्फबाट अशोक खवास, धिरेन क्षेत्री, साइमन लिम्बु, आदित्य शाक्य र सागर तिवारी सहित पाँचै जनाको प्रहार गोलमा परिणत भएको थियो ।
खेलको म्यान अफद म्याच मोरङका गोलकिपर पूर्ण चेम्जोङ घोषित भए । उनले नगद १० हजार पाए । यस अधि निर्धारित समयमा दुवै टिमले आक्रामक खेल प्रस्तुत गर्न सकेनन् । खेलको ३२ औँ मिनेटमा धरानका प्रवीण भुजेलले मोरङका भुवन बस्नेतलाई खराब टयाकल गरेपछि दोहोरो पहेँलो कार्ड हुँदै रेड कार्ड पाएर मैदान बाहिरिए ।
१० खेलाडीमा सीमित धरानमाथि बाँकी समय मोरङले गोल गर्न नसक्दा पेनाल्टी सुट आउटसम्म कुर्नु परेको थियो । धरानले पनि खेलको ६० औँ मिनेटमा पाएको अवसर खेरा फाल्यो । विनोद राई वान भर्सेज वान मा गोल गर्न चुके । उनको प्रहार गोलकिपर पूर्णले रोके ।
बिहीबार को अन्तिम सेमिफाइनल खेल काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापा र न्यु रोड टिम एनआरटीबिच हुनेछ ।
शनिवार हुने फाइनल विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।