सुनसरी - पाँच पटकको उपाधि विजेता विभागीय टिम नेपाल पुलिस क्लब २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलबाटै बाहिरिएको छ ।
धरान रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटर फाइनलमा एन्फा मोरङसँग ३-० गोल अन्तरले पराजित हुँदै पुलिस पहिलो खेलबाटै बाहिरिएको हो ।
पुलिसलाई पराजित गर्न मोरङका महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक एक गोल गरे । प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन ।
दोस्रो हाफमा पुलिसमाती दबाब बढाएको मोरङका लागि महेन्द्रले ७० औँ मिनेटमा साइमन लिम्बुले प्रहार गरेको थ्री किकलाई हेड मार्फत गोल गरेका थिए । ८० औँ मिनेटमा पुलिसका सञ्जीव लामाले मोरङका मौसम लिम्बुलाई डिएरियामा लडाएपछि रेफ्री मनिष अधिकारीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई उमेशले सहजै गोल गरे ।
IMG_4014
मोरङका लागि खेलको अन्तिम ४ मिनेटको अतिरिक्त समयमा सुशीलले गोल गरेपछि पुलिस ३-० ले स्तब्ध भएको हो । उक्त गोल पञ्चात पुलिसका हेमन्त श्रेष्ठले विपक्षी खेलाडीसँग विवाद गरेपछि दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए ।
कार्डको वर्षा भएको खेलमा पुलिसका अन्य ४ जना र मोरङका ३ जनाले पहेँलो कार्ड पाएका थिए । आजको जीतसँगै मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । 
    खेलको म्यानअफद म्याच विजयी टिमका उमेश कार्की घोषित भए । उनले नगद १० हजार पाए ।
प्रतियोगिता अन्तर्गत मङ्गलवारको अन्तिम क्वाटर फाइनलमा झापा गोल्ड कप विजेता चर्च ब्वाईज क्लब र काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापाबिच हुने आयोजकले जनाएको छ ।
चैत्र ३ गतेसम्म चल्ने गोल्डकपकोे विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।