सुनसरी — न्युरोड टिम एनआरटी २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धरान रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

विजयी टिम एनआरटीका लागि शिशिर लेखी र अफिज ओलावालेले १–१ गोल गरे । लेखीले खेलको १४ औं मिनेटमा र ओलावालेले ६० औं मिनेटमा गोल गरेका हुन् ।

आर्मीका लागि खेलको ५ औं मिनेटमा मानबहादुर आलेमगरले १ गोल गरे । खेलको म्यान अफ द म्याच विजयी टिम एनआरटीका शिशिर लेखी घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

सोमबारको तेस्रो क्वाटरफाइनल खेल अर्को विभागीय टिम नेपाल पुलिस क्लब र मोरङ फुटबल संघबीच हुने आयोजकले जनाएको छ । यसअघि शनिबार भएको उद्घाटन खेलमा पाहुना टोली भारतको यूकेएफसीलाई पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।