सुनसरी । आयोजक धरान फुटबल क्लबले २४ औँ संस्करणको बुढासुब्बा गोल्ड कप फुटबलमा विजयी सुरुवात गरेको छ । शनिवार भएको उद्घाटन खेलमा पाहुना टोली युकेएफसी भारतलाई सडेन डेथमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटमा दुवै टिमले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । पेनाल्टीमा पनि ५-५ गोलको बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो ।
सडेन डेथमा धरान १०-९ गोल अन्तरले विजयी भएको हो । यो जीत सँगै आयोजक धरानले गत संस्करणको उद्घाटन खेलमा बेहोरेको हारको बदला लिएको छ । गत संस्करणको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब युकेएफसीसंगनै पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित हुँदै क्वाटर फाइनलबाटै बाहिरिएको थियो ।
       धरान रङ्गशालामा शनिवार भएको उद्घाटन खेलको ५९ औ मिनेटमा मिलन राईले गोल गरेर आयोजक टिमलाई अग्रता दिलाएका थिए । उनले विनोद राईले कर्नर क्षेत्रबाट दिएको पासको सदुपयोग गर्दै बललाई जाली चुमाए । खेलको ७३ औ मिनेटमा युकेएफसीका नयन प्रधानले गोल फर्काएपछि खेल एक एक को बराबरीमा फर्कियो । दोस्रो हाफको सुरुवातमै पेमा लामाको स्थानमा मैदान छिरेका प्रधानले सचिन थापाले दिएको पासलाई गोलमा परिणत गरेका थिए । 
     खेलको ७७ औँ मिनेटमा युकेएफीका राज राउतको डिएरिया भित्र हेण्ड भएपछि पाएको पेनाल्टीलाई मिलन राईले खेर फाल्दा धरानले जितका लागि सडेन डेथसम्म कुर्नुपरेको थियो । सडेन डेथमा युकेएफसीका एन्थोनी क्षेत्रीको प्रहार आयोजकका किपर सचिन श्रेष्ठले रोकेपछि धरान सेमीइनल पुगेको हो । खेलको म्यान अफ द म्याच धरानका गोलरक्षक श्रेष्ठ घोषित भए । उनले नगद १० हजार पाए । 
      आइतबारको खेल न्यु रोड टिम एनआरटी र त्रिभुवन आर्मी बिच हुनेछ । एक सातासम्म चल्ने गोल्ड कपमा ८ टिम सहभागी छन् । २०५५ सालदेखि सुरु भएको प्रतियोगिताको यो संस्करणको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, र बिधागतरुपमा उत्कृष्ट हुनेले जनही नगद २५ हजार पाउनेछ । सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउनेछ ।