सुनसरी - कोसी प्रदेशस्तरिय बाहिनी पति कप प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीको आयोजनामा सम्पन्न विभिन्न विधामा नम्बर ४ गण हेड क्वाटर सुनसरीले ३ स्वर्ण र १ रजत गरी ४ पदक सहित बाहिनी पति कपको उपाधि जितेको हो । फुटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस र ३०० मिटर दौड गरी ५ विधामा गराइएको प्रतिस्पर्धाका अधिकांश खेलमा ४ नम्बर गण सुनसरीका खेलाडीहरूले वर्चस्व कायम गरेका छन् । नम्बर ४ गणले भलिबल, फुटबल र टेबल टेनिस तर्फ स्वर्ण जितेको हो । 
         प्रतियोगिताको समापनको अवसरमा शुक्रवार सम्पन्न फुटबलमा नम्बर ४ गण सुनसरीले फुटबलको फाइनलमा ६ नम्बर गुल्म छिन्ताङ्ग धनकुटालाई १-० गोल अन्तरमा पराजित गर्दै स्वर्ण जितेको छ । बाहिनिपती कप प्रतियोगिता तर्फ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ रिजर्भ गण हेड क्वाटर पकली दोस्रो र ५ नम्बर गण हेड क्वाटर त्रियुगा उदयपुर तेस्रो भएको छ । ४ दिन सम्म चलेको प्रतियोगितामा कोसी प्रदेश अन्तर्गत बराह बाहिनी गण मातहतका विभिन्न जिल्लाका गण, गुल्महरूका २ सय ४० जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता तर्फ उत्कृष्ट बन्न सफल नम्बर ४ गण हेड क्वाटर सुनसरीका गणपति समेनन्द बज्राचार्यलाई बराह बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजी अञ्जनी कुमार पोखरेलले सम्मान तथा पुरस्कृत गरे । 
         सशस्त्र प्रहरी बलले पेसागत गतिविधि चक्र संचालन सम्बन्धी कार्य योजना २०७९ अनुसार बाहिनी पति कपको आयोजना गरिएको डिआइजी पोखरेलले बताए । प्रतियोगिताबाट छनौट भएका उत्कृष्ट खेलाडीहरूले आइजिपी कपमा सहभागिता जनाउन पाउने पोखरेलले जानकारी दिए ।