पाँचथर । पाँचथरमा कोसी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने प्रतियोगिता फागुन ९ देखि ११ गतेसम्म हुनेछ ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ ।

मङ्गलवार खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो । प्रतियोगिताका खेलहरू जिल्ला समन्वय समिति पाँचथरको कवर्डहलमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, विमेन डबल, विमेन सिंगल र मिक्स डबलका खेलहरू हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । प्रतियोगितामा कोसी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरूको सहभागिता रहने छ ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफि,मेडल सहित नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरी दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । 

खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र उपबिजेताले १५ हजार प्राप्त गर्ने छन् ।

आगामी फाल्गुन २४ गते देखि हेटौडामा हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने मोक्तानले जानकारी दिए । प्रतियोगितालाई फिदिम नगरपालिकाले समेत आर्थिक सहयोग गरेको छ ।

प्रतियोगितामा प्राविधिक सहयोग जिल्ला ब्याडमिन्टन सङ्घले गर्ने छ ।

प्रतियोगिता सम्पन्न गर्न १८ लाख खर्च हुने आयोजकको अनुमान छ ।