सुनसरी - कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब) तेह्रथुमले जितेको छ । इटहरीमा शनिवार भएको फाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनकुटालाई ४-१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधि जितेको हो । उपाधिसँगै बिटीएफसीले नगद २ लाख २२ हजार हात पारेको छ । उपबिजाते धनकुटाले १ लाख ११ हजार  हात पारेको छ । 
   तेह्रथुमको जीतमा शिशिर लेखीले २ तथा ज्ञानेन्द्र भण्डारी र प्रदीप बुढाथोकीले एक एक गोल गरे । खेलको २२ औँ मिनेटमा शिशिर लेखीको पासमा ज्ञानेन्द्रले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अग्रता लिएको बिटिएफसीले थप तीन गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफको ११ औँ र ३३ औँ मिनेटमा लेखीले २ गोल गरे । दोस्रो हाफको ३४ औँ मिनेटमा बुढाथोकीले गोल गर्दै टिमलाई ४-० को अवस्थामा पुर्‍याए । त्यसअघि धनकुटाको लागि दोस्रो हाफको तेस्रो मिनेटमा पेनाल्टी मार्फत भुवन बस्नेतले १ गोल फर्काएका थिए ।  
     सर्वोत्कृष्ट खेलाडी धनकुटाका असीम राई घोषित हुँदै नगद पन्ध्र हजार हात पारे । बिटिएफसीका शिशिर लेखी म्यान अफ द फाइनल, प्रेम लिम्बु उत्कृष्ट गोल रक्षक घोषित हुँदै नगद दस हजार हात पारे । प्रतियोगिताभर समान तीन गोल गरेका शिशिर लेखी, ज्ञानेन्द्र भण्डारी, धनकुटाका भुवन बस्नेत र धरान फुटबल क्लबका मिलन राई सर्वाधिक गोलकर्ता घोषित हुँदै जनही नगद दस हजार हात पारे । विजेता तथा उपबिजाते खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पुरस्कार वितरण गरे । द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गतेदेखि भएको प्रतियोगितामा कोसी प्रदेशका ८ टिमको सहभागिता रहेको थियो ।