सुनसरी - धरान फुटबल क्लब इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
धरानको जितमा मिलन राईले २ तथा विनोद राई र सुगम जिमीले एक एक गोल गरे । मिलनले ३२ र ५२ औँ मिनेटमा गोल गरेका थिए । तेस्रो गोल विनोद राईले खेलको ६७ औँ मिनेटमा गरेका थिए ।
football
अनिल राईको स्थानमा ७० औँ मिनेटमा मैदान प्रवेश गरेलगक्तै सुगमले चौथो गोल गरेपछि धरान सहज जीतका साथ  सेमिफाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच मिलन घोषित भए । उनलाई इटहरी उपमहानगर २० का वडाध्यक्ष तथा आइतबारको खेलका प्रमुख अतिथि मणिराम श्रेष्ठले नगद ५ हजार प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत सोमबारको खेल संखुवासभाको लोहरुङ फुटबल र दमक फुटबल एकेडेमी झापाबिच प्रतिस्पर्धा हुने आयोजक द योङ्ग बद्र्रस क्लबले जानकारी दिएको छ ।
प्रतियोगितामा कोसी प्रदेशका विभिन्न आठ वटा टिमको सहभागी रहेको क्लबका संरक्षक विकास केसीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद दुई लाख ११ हजार र उपबिजेताले नगद एक लाख ११ हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउँदा विधागत उत्कृष्टले नगद १० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।