सुनसरी । प्रदेश सरकारले सप्तकोसी नदीमा सञ्चालित जेट बोट तथा जल यातायातलाई व्यवस्थित गर्ने भएको छ ।
कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले जल मनोरञ्जन खेलका लागि र्याफ्टिङ्ग एजेन्सीको रूपमा प्राप्त गरेको इजाजतको दुरुपयोग गरी विना पूर्वाधार जलयात्राका मापदण्ड विपरीत व्यवसाय सञ्चालन गरेको जनउदै व्यवस्थित गर्न प्रक्रिया सुरु गरेको जनाएको छ ।
प्रदेश सरकारले सप्तकोसी नदीमा सञ्चालित विभिन्न एक दर्जन कम्पनीलाई पाँच दिनभित्र कागजात उपलब्ध गराउन अल्टिमेटम सहित पत्राचार गरेको छ ।
प्राकृतिक स्रोत, साधनको दुरुपयोग तथा चरम आर्थिक शोषणका साथै आम सर्वसाधारण नागरिकको सुरक्षामा समेत ध्यान नदिएको भन्दै उजुरी परेपछि प्रदेश सरकारले पत्र काटेको हो ।
वातावरण संरक्षण ऐन, २०७६, पर्यटन ऐन, २०३५ तथा जलयात्रा नियमावली, २०६५ को मर्म र भावना विपरीत भएका गतिविधि नियन्त्रण सम्बन्धमा उजुरी परेपछि वन तथा वातावरण मन्त्रालय, सिंहदरवार मार्फत वन तथा भू-संरक्षण विभाग काठमाण्डौ हुँदै प्रदेश मन्त्रालयमा आवश्यक कारवाहीका लागि निर्देशन आएपछि प्रदेश सरकारले आवश्यक छानबिन समेत थालेको थियो ।