काठमाडौं । कोशी प्रदेशविरुद्ध सहज जित हात पार्दै मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कोशीविरुद्ध मधेश ७ विकेटले विजयी भएको हो । मधेशको जितमा अनिल साहले अर्धशतकीय इनिङस् खेले ।

मुलपानी क्रिकेट मैदानमा मधेशले टस जितेर फिल्डिङ रोजेको थियो । सुरुवाती ब्याटिङ गरेको कोशी ४१ ओभरमा १ सय २७ रनमा अलआउट भयो ।

कोशीका ओपनर तथा कप्तान अंकित सुवेदीले ४० र फिर्दोस अन्सारीले ४१ बनाउनु बाहेक कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीलाई रोक्न मधेशका प्रदीप पासपानले ३ तथा पवन सरार्फ, राजेश यादव र रन्जित कुमारले २–२ विकेट लिए ।

जवाफमा १ सय २८ रनको सामान्य लक्ष्य मधेशले २० ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान हरिशंकर साह र अनिल साहले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गर्दै मधेशलाई बलियो सुरुवात दिलाए । हरिशंकर १३ औं ओभरको पहिलो बलमा क्याच आउट भए । मायन यादवले १ रन मात्र जोड्दा सके । अनिल व्यक्तिगत ८८ रनमा आउट हुँदा मधेशलाई जितका लागि केवल १० रन आवश्यक थियो ।

पवन सर्राफ २ र निरज यादव ९ रनमा अविजित रहँदै मधेशलाई जित दिलाए । कोशीका सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट लिए पनि लक्ष्य रक्षा गर्न पर्याप्त भएन । जितसँगै पहिलो पटक राउण्ड रोविनका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा मधेशले महत्वपूर्ण २ अंक जोडेको छ ।