सुनसरी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अङ्कित सुबेदीको कप्तानीमा १८ सदस्यीय कोसी प्रदेश टिमको घोषणा गरिएको छ । पुस १९ गते देखी २५ गतेसम्म सुनसरीको इटहरी र भोक्राहा नरसिंहमा भएको कोसी प्रदेश छनौट प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा टिम छनौट गरिएको कोसी प्रादेशिक क्रिकेट संघले जनाएको छ । सुरेश गुरागाईँको संयोजकत्वमा मनोज कुमार मण्डल र सोमेस कुमार शाह सदस्य रहेको छनौट समितिले छनौट गरेको चार वैकल्पिक सहित १८ सदस्यीय टिममा झापाबाट सर्वाधिक ७ जना खेलाडी परेका छन् । 
      बुधवार साँझ घोषणा गरिएको टिममा झापाबाट कप्तान सुबेदी सहित सुजन थपलिया, समीर कार्की, कमल खत्री, सौजन घिमिरे, अभ्यास तिमल्सिना र वैकल्पिक खेलाडी भूपाल दंगाल रहेका छन् । मोरङबाट तीन जना मात्र छनौट भएका छन् । जसमा विकेट किपर मिनस थापा, उपकप्तान फिर्दोस अन्सारी वैकल्पिक खेलाडी सौगात  भटराई रहेका छन् । सुनसरीबाट सोनु मण्डल, भूपाल लुइँटेल र सुमन गहतराज छनौट भएका छन् । उदयपुरबाट सोनु अन्सारी, आइस भटराई र वैकल्पिक खेलाडी दीपकराज जोशी छनौट भएका छन् । इलामबाट हेमन राई र वैकल्पिक खेलाडी आश्विन कामत रहेका छन् ।
       कोसी टिमको प्रशिक्षक पुष्प थापाले सम्हाल्ने छन् भने व्यवस्थापकमा सुरेश गुरागाईँ र एनालिष्टमा विनीत बास्तोला रहेको कोसी प्रादेशिक क्रिकेट संघका सचिव टिकाराम पुरीले जनाएका छन् । छनौट भएका उनीहरूले पुस २८ गते देखी काठमाण्डौ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश टिमबाट सहभागिता जनाउने छन् ।