सुनसरी । मुख्य रेफ्री झापाका श्याम दनुवारसँगै सहायक रेफ्रीहरु हरिश कार्की, प्रकाश भुजेल र मेरिना धिमाल सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् ।

फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सुचिमा नेपालको तर्फबाट कुल १२ रेफ्री परेका छन् । गत वर्षबाट संख्या घटबढ नभएपनि चार रेफ्री भने परिवर्तन भएका हुन् । झापाका श्याम दनुवारले फिफा रेफ्री प्राप्त गर्दा प्रकाश नाथ श्रेष्ठ भने फिफा सुचीबाट बाहिरिएका छन् ।

त्यस्तै सहायक रेफ्रीतर्फ स्वर्गीय विक्रम चौधरी र अष्ट्रेलिया भासिएका युनाल मल्लको स्थानमा चितवनका प्रकाश भुजेल र काठमाडौंका हरिश कार्की आएका छन् । महिलातर्फ राधिका शाक्यको स्थानमा एपीएफकी मेरिना धिमाल फिफा सहायक रेफ्री बनेकी छिन् ।

२०२३ बाट मुख्य रेफ्रीमा प्रज्वल क्षेत्री, नविन्द्र महर्जन र कविन ब्यन्जनकारले फिफा रेफ्रीमा निरन्तरता पाएका छन् । महिलातर्फ अन्जना राई नै निरन्तर फिफा रेफ्री छिन् । त्यस्तै सहायक रेफ्रीमा नानीराम थापा, माधव खत्री, किशन कन्हैया यादव र सहदेव श्रेष्ठले निरन्तरता पाए ।