सुनसरी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोसी छनौटमा झापाले लगातार दोस्रो जीत निकालेको छ । झापाले इलामलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जीत निकाल्दा सुनसरी भने आफ्नो दोस्रो खेलमा उदयपुरसँग पराजित भएको छ । 
 सुनसरीको भोक्राहा नरसिंह स्थित डा. खालिल आजाद खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इलामले निर्धारित ५० ओभरको खेलमा २७ ओभर खेल्दै ६४ रनमा अलआउट भएको थियो । जवाफमा ६५ रनको सामान्य विजयी लक्ष्य झापाले १३ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पुरा गरेको थियो । 
       शुक्रबारनै इटहरीस्थित जनता क्रिकेट मैदानमा भएको खेलमा उदयपुरले सुनसरीलाई ७१ रनले पराजित गरेको छ । बिहीबार आफ्नो पहिलो खेलमा झापासँग ८७ रनले पराजित उदयपुरका दुई जना ब्याटरले शतक प्रहार गरेपछि सुनसरी लगातार दोस्रो हार ब्योहोर्न बाध्य भएको हो । यसअघि शुक्रवार भएको उद्घाटन खेलमा सुनसरी मोरङसँग ६६ रनले पराजित भएको थियो । 
  टस जितेर पहिले ब्याटिङ गरेको उदयपुरले ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय ९० रनको उच्च स्कोर बनाएको थियो । उदयपुरका लागि सोनु अन्सारीले ८६ बलमा १ सय १९ रन जोडे । यस्तै म्यान अफद म्याच आईश भटराईले नट आउट १ सय १२ रनको उत्कृष्ट इनिङ खेले । उनले १ सय १७ बलको सामना गरेका थिए । 
    सुनसरीका लागि भूपाल लुइँटेलले ४, सुभम यादवले २ र प्रकाश कार्की तथा समीर तिम्सिनाले एक एक विकेट लिए । जवाफमा २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको सुनसरी ३५ दशमलव १ बलमा २ सय १९ रनमा समेटियो । सुनसरीलाई सम्मानजनक स्कोर बनाउन ६० बलको सामना गरेका सोनु मण्डलले सर्वाधिक ९० रन बनाए पनि हार टार्न सकेनन् । रितेश रायले ३३ र भूपाल लुइँटेलले २८ रन जोडे पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । 
    बलिङतर्फ उदयपुरका तेज आचार्य, सुयोग कार्की र दीपकराज जोशीले २-२ विकेट लिए । शनिवार सुनसरी र इलाम बिच जनता क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदा डा. खालिल आजाद मैदानमा मोरङ र उदयपुरबिच खेल हुने प्रतियोगिता संयोजक अफजल हुसेनले जानकारी दिए ।
      पुस २५ गते सम्म चल्ने प्रतियोगितामा कोसी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका खेलाडीहरूको सहभागिता छ । प्रतियोगितामा उत्कृष्ट २ टिमले फाइनल खेल्नेछन । उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनौट गरिने र उनीहरूले आगामी पुस २७ गते देखी काठमाडौँ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश टिमबाट खेल्नेछन ।
तस्बीर - गुरु ढकाल, सञ्चारपाटी