विराटनगर । मोरङका तीन ठुला व्यवसायी सङ्गठनले लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाईन विद्युत् महसुलको विषयलाई लिएर विद्युत् लाइन काटिएको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् लाइन काटिएको बारेमा गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष राजेश सुराना, मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल रर नेपाल उद्योग परिसंघका कोशी प्रदेश अध्यक्ष पवन सरडाद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरूमा विद्युत् आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा गलत सन्देश जाने बताएका हुन् । ‘उत्पादन ठप्प हुँदा रोजगारी, राजश्व तथा बैङ्क व्याज भुक्तानी, बजार श्रृखला लगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कसले लिने ?, विज्ञप्तिमा भनिएको छ, यतिका दिनसम्म औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भइरहँदा समेत सरकारले समस्याको गम्भीरतालाई आत्मसात् गरी न्यायोचित समाधानका लागी अविलम्ब पहल गर्नु पर्छ।’
व्यवसायीले डेडिकेटेड र ट्रंकलाईन विद्युत् महसुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगीहरू बिच रस्साकस्सी हुँदै आएको बताएका छन् । आ–आफ्नो अडानका कारण पेचिलो बनेको यो विषयलाई न्यायोचित समाधान खोज्न व्यवसायीको माग छ । उनीहरूले विद्युत् आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात् गर्दै हाल उद्योगहरूमा काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सुचारु गर्नुपर्ने बताएका छन् । त्रिपक्षीय सरोकारवालाहरु नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित विषयलाई न्यायोचित निरूपण गरी निजी क्षेत्रले समेत न्याय अनुभूति गर्ने गरी तत्काल ठोस कदम चाल्न उनीहरूले नेपाल सरकार तथा सम्बन्ध सबैसँग माग गरेका छन् ।

















