इटहरी । आगामी पुस १५ गते देखी ११ औँ भेडेटार फुड फेस्टिभल आयोजना हुने भएको छ । अग्रँेजी नयाँ वर्षको अवसरमा पर्यटकीय सहर भेडेटारमा फुड फेस्टिभल आयोजना हुँदै आएको छ । 

अग्रेँजी नयाँ वर्षको अवसरमा तीन दिने फेस्टिभल आयोजना गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ । 
होटेल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले फुड फेस्टिभलमा राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारी लगायतका जातीय मौलिक परिकारका स्टलहरू रहने जानकारी दिएका छन् । साहसिक खेल, माउन्टेन बाइक, प्याराग्लाइडिङ फेस्भिलको आकर्षण हुने अध्यक्ष लिम्बुले बताए । 
योसँगै फेटिस्भलमा कृषिजन्य वस्तुहरूको प्रदर्शनी, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी विक्री वितरण हुनेछ, भने स्थानीय तथा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिले पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्ने अध्यक्ष लिम्बुले जानकारी दिए । 
अग्रेँजी नयाँ वर्षमा मानिसहरू घुम्न जाने हुनाले उनीहरूलाई आकर्षित गर्न फुड फेस्टिभल सफल हुने होटल एसोसिएसन अफ भेडेटारका पूर्व अध्यक्ष तथा साँगुरगढि गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । 
भेडेटारको पर्यटनको प्रवर्धनका लागि कोसीको खुवालुङ देखि ध्वजे डाँडासम्म पदमार्ग निर्माण गर्ने, हाइकिङ र अन्तर्राष्ट्रिय म्याराथन लगायतका काम गर्ने योजना अघि बढाएको गाउँपालिका अध्यक्ष रुम्दालीले बताए । 
 भेडेटारमा २०६८ सालदेखि उत्सवका रूपमा यसरी फेस्टिभल मनाउन सुरु गरिएको हो ।।