सुनसरी । धरानमा विमानस्थल निर्माणका लागि पुन स्थलगत अध्ययन सुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले नगरप्रमुख हर्क साम्पाङ सहित बिहीबार बिहान धरान-१७ को डाँडा घोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत विमल खनाल र चार्टर एकाउन्टेन्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो । बुधवार धरान आइपुगेको टोलीले उपमहानगरपालिकामा छलफल गरेपश्चात् बिहीबार स्थलगत अध्ययन सुरु गरेको हो ।
यसअघि टोलीले बुधवार मेयर साम्पाङलाई २०७४ सालको अध्ययन प्रतिवेदनको समेत जानकारी गराएको थियो ।
उक्त प्रतिबेनअनुसार निःशुल्क जग्गा उपलब्ध गराउन नसक्दा बन्न नसकेको एयरपोर्ट अब बनाउँदा पुरानै निःशुल्क जग्गा चाहिने हिसाब सहित सरकारको हवाई नीति भित्र पर्नुपर्ने कुरामा टोलीले ध्यानाकर्षण गराएको थियो ।