सुनसरी । बचतकर्ताहरूको करिब ४० करोड बचत रकम अपचलन गरेको आरोपमा इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित पाँच जना सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका थप एक जनाको नाम प्रहरीले खुलाएको छैन ।

बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्ष सहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठगी प्रकरणको प्रारम्भिक अनुसन्धान सुरु भैसकेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्ति पनि पक्राउ पर्न सक्ने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

यसअघि तीन महिनायता बचत गरेको रकम फिर्ता गर्न माग गर्दै बचतकर्ताहरू आन्दोलित बनेका थिए । बचतकर्ताहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय र सञ्चालकको घर घेराउ समेत गरेका थिए ।

पाँच हजार बढी सेवाग्राहीहरूको रहेको सहकारीमा ३ सय सेयर सदस्य रहेका छन् । सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर सेवा सञ्चालन गरिरहेको छ ।

यता सहकारीले भने व्यापार व्यवसायमा इतिहासमै ठुलो सङ्कट र बैङ्कमा तरलताको अभाव रहेको कारण बचत कर्ताहरूले मागेको बचत रकम एकै पटक फिर्ता गर्न नसकिएको जनाएको छ ।

बजारमा लगाएको कर्जा समेत ऋणीले एकै पटक तिर्न सक्ने अवस्था नरहेको कारण बचत फिर्तामा समस्या भएको सहकारीको भनाई छ ।