सुनसरी । पटक पटक सरकार परिवर्तन भएपछि कोसी प्रदेशको पहिलो सरकारले गौरवशाली आयोजनाको रूपमा अगाडि बढाएको कोसी रिफ्रेसमेन्ट सेन्टरको काम अलपत्र बनेको छ ।
तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले पाँच बर्सअघि सुनसरीको कोसी गाउँपालिकाको कोसी कटान क्षेत्रमा प्रदेशकै गौरवशाली बहुबर्षिय आयोजनाको रूपमा कोसी रिफ्रेसमेन्ट सेन्टर निर्माणको काम अघि बढाएको थियो ।
refreshment cntr 1
त्यसका लागि छुट्टै कार्यालय स्थापना गरेर निर्माण कार्य अगाडि बढाइए पनि त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एसका मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले कार्यालय खारेज गरेपछि आयोजनाको काम अलपत्र परेको थियो ।
प्रदेश मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवामा रहेको सेन्टरको कार्यालय खारेज गरेर रिफ्रेसमेन्ट सेन्टर निर्माणको काम सहरी विकास कार्यालय मोरङले हेर्ने निर्णय गरेसँगै काम अलपत्र परेको हो । प्रदेश सरकारले प्रभावकारी रूपमा काम अघि नबढाउँदा आयोजनाको कामले अहिलेसम्म गति लिन सकेको छैन ।
refreshment cntr 2
अहिलेसम्म जग्गा खरिदको काम सकेर संरचना निर्माणको कामलाई अगाडि बढाए पनि बजेट अभावले काम हुन नसकेको हो ।
दुई अर्ब रुपैयाँ अनुमानित लागत रहेको परियोजनाको पहिलो चरणमा २७ करोड पाँच लाख १९ हजार रुपैयाँ बराबरको काम थालिने बताइएको थियो ।
तीन वर्ष भित्रमा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सेन्टरको भौतिक प्रगति अहिलेसम्म १० प्रतिशत मात्र रहेको छ ।