सुनसरी । राष्ट्रिय बंगुर अनुसन्धान संलग्न सरकारी वैज्ञानिक र कृषि अभियन्ताहरूले चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालमा उत्पादित बंगुरको चीनमा बजार सम्भावना बारे छलफल गर्न आग्रह गरेका छन् ।
चीन विश्वमै सबैभन्दा धेरै बंगुरको मासु खपत गर्ने राष्ट्र हो । नेपालमा ब्यबशायिक बंगुरपालनको प्रचुर सम्भावना भएको र त्यसको व्यवसायीकरणका लागि उत्पादन, गुणस्तर र बंगुरको निर्यातका विषयमा चीनियापक्षसँग छलफल गर्नुपर्ने बंगुर अनुसन्धान र प्रविधि विकासमा लागेका वैज्ञानिकहरूको सुझाव छ ।
मध्य पहाडी र उत्तर- दक्षिण राजमार्गको तीव्र गतिमा भइरहेको विकासले चीन प्रवेशका लागि महत्त्वपूर्ण आधार तयार हुँदै गएकाले बंगुर निर्यात मार्फत नेपालले त्यसको दीर्घकालीन फाइदा उठाउन सक्ने उनीहरूको भनाई छ ।
चीनले वार्षिक झन्डै तीन करोड टन बंगुरको मासु अमेरिका, ब्राजिल, रसिया, डेनमार्क र क्यानडाबाट आयात गर्छ ।
नेपालमा चीनलाई पहिलो प्राथमिकतामा राखेर बंगुर उत्पादन गरी यथेष्ट लाभ लिन सकिने कृषि पर्यटन अभियन्ता जीवनप्रसाद राई को भनाई छ ।
नेपालमा पशुपालन व्यवसायमध्ये बंगुरपालनको हिस्सा सात प्रतिशत छ । यसबाट वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको पशुपंक्षि विकास मन्त्रालयको तथ्याङ्क छ ।