सुनसरी । सुनसरीको धरानमा तीन महिनादेखि फैलिएको डेंगीको प्रकोप नियन्त्रणमा तीनै तहका सरकारको तदारुकता अपर्याप्त देखिएको छ ।
चार वर्षअघि डेंगी फैलिँदा  धरानमा नियन्त्रणका लागि प्रहरीसहित जनपरिचालन गरिएको थियो । तर यस पटक महामारी फैलिएर १२ जनाको मृत्यु भइसक्दा पनि नियन्त्रणका काम प्रभावकारी देखिएका छैनन् ।
तीन महिनाअघिदेखि फैलिएको डेंगीको महामारी नियन्त्रणमा आउन नसक्दा सुनसरीको धरान अस्तव्यस्त छ । चार वर्षअघि डेंगी नियन्त्रण नहुनुको मुख्य कारण धरानवासीले खानेपानी साँचेर राख्नु मुख्य कारण देखिएको भन्दै एक दिन खानेपानी पोखेर सुख्खा राख्ने अभियान चलाइएको थियो । किनभने सहरमा खानेपानी अभाव छ । त्यस बेला प्रदेश सरकारले धरानमा देखिएको डेंगुको प्रकोप नियन्त्रण गर्न कार्य योजना नै तयार गरेको थियो । सो कार्य योजनाअनुसार प्रदेश सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहलाई निर्देशनसमेत दिएको थियो ।
तर यस पटक प्रदेश र सङ्घीय सरकारको अग्रसरता निराशाजनक छ । प्रदेश सरकार सङ्ग बजेट अभाव रहेको र सङ्घीय सरकारलाई बजेट उपलब्ध गराइदिन पत्राचार गरे पनि कुनै सुनवाइ नभएको स्वास्थ्य मन्त्रालय कोसी प्रदेश सचिव डा. सुधा देवकोटाले बताइन ।

धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघा डेंगी नियन्त्रणको लागि सबैले काम गरे पनि समन्वयात्मक ढङ्गले काम हुन नसकेको बताउँछन् ।
१४ हजारभन्दा बढी सङ्क्रमित र १२ जनाको मृत्यु भइसक्दा पनि डेंगी नियन्त्रणमा स्थानीय सरकारले गरेको प्रयास प्रभावकारी हुन नसक्दा आलोचना बढ्दो छ ।
धरानमा डेंगी सङ्क्रमण नियन्त्रण बाहिर गएको भन्दै जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जनस्वास्थ्य आपत्काल घोषणा गर्न सिफारिस गरे पनि कार्यान्वयन हु नसकेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले बताए ।
डेंगी सङ्क्रमितका लागि धरानमा निःशुल्क परीक्षणको व्यवस्था मिलाइए पनि त्यो पर्याप्त छैन ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चाप बढेपछि कोभिड अस्पताललाई डेंगी अस्पतालमा रूपान्तर गरेर उपचारको व्यवस्था मिलाएको छ । वडा कार्यलयहरुले पनि शिविर चलाएका छन् । तर पनि प्रकोप अझै नियन्त्रण बाहिर छ ।