विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा– रुवेलाको खोप अभियान सञ्चालन गरिने भएको छ । 
स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारवाला बिचको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइएको थियो । 
निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशको मोरङ र सुनसरीमा खोप अभियान सञ्चालन गरिने बताए ।  कोशी प्रदेशको मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिका दादुरा–रुवालेको उच्च जोखिम रहेको बताए ।  हाल रतुवामाईमा ४१ जना र बर्जुमा ३२ जना दादुरा–रुवेलाका बिरामी भेटिएको उनले बताए। विद्यालय केन्द्रित खोप केन्द्र राखेर अभियानलाई सफल बनाउनुपर्नेमा उनले जोेड दिए ।
महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रुबेलाको खोप लगाइने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।  त्यसका लागि एउटा खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक परिचालन गरिने छ । 
कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीले सबैको साथ र सहयोगले खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । खोपका विषयमा हरेक व्यक्तिले टोल–टोलमा पुगेर प्रचारप्रसार र सचेतना फैल्याउनुपर्नेमा कार्कीले जोड दिइन् । ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत अनिल देवले बताए ।  खोप लगाएका १० हजारमध्ये एक जना बालबालिकामा असर देखिन सक्ने सम्भावना रहेको जानकारी दिए ।

 सरकारले सन् २०२३ भित्र नेपालबाट दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको थियो । तर, त्यो सम्भव नभएपछि आगामी २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको छ ।