सुनसरी  । एक सातादेखि आन्दोलनरत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू आन्दोलनको कार्यक्रम फिर्ता लिएर बुधबारदेखि  काममा फर्किएका छन् ।

इर्न्टनहरूले जीवन निर्वाह भत्ता वृद्धिलगायत माग राखेका थिए । प्रतिष्ठानका पदाधिकारी र व्यवस्थापन पक्षसँग भएको वार्तामा माग गरिएका विषयमा सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लिएर उनीहरू नियमित ड्युटीमा फर्किएका हुन् । इन्टर्नहरू आन्दोलित भएपछि प्रतिष्ठानमा बिरामीको उपचार प्रभावित भएको थियो ।

प्रतिष्ठानले आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि लागू हुने गरी इन्टर्न विद्यार्थीहरूलाई जीवन निर्वाह भत्ता मासिक २३ हजार रुपैयाँ उपलब्ध गराउने सहमति भएको कामु उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले बताए ।

दुई पक्षबीच भएको सहमतिअनुसार सिफारिस समितिले सिफारिस गरेअनुसार इन्टर्नसिप सुरु भएको पहिलो पाँच महिनाको बाँकी भुक्तानीको सम्बन्धमा आगामी कार्यकारिणी समितिको बैठकमा लैजाने, इन्टर्न विद्यार्थीलाई आन्दोलन गरेकै कारण पूर्वाग्राही व्यवहार नगरिने र आन्दोलनको समय इन्टर्नहरूको हाजिरीमा पनि प्रतिष्ठानले कुनै बाधा उत्पन्न नगराउने सहमति भएको छ ।

१ सय ४२ इन्टर्न चिकित्सकले भत्ता मासिक २३ हजार रुपैयाँ पुर्‍याउनुपर्ने मागसहित चारबुँदे ज्ञापनपत्र व्यवस्थापन पक्षलाई बुझाएका थिए ।