विराटनगर ।  कोशी अस्पतालका पूर्व मेसु तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले शिशुलाई बेचेको खुलेको छ। एक दिने नवजात शिशु मोटो रकम लिएर बेचेको पाइएको हो ।  प्रहरीले गरेको अनुसन्धानको क्रममा डाक्टर कर्णले ग्रिन क्रस हस्पिटलमा जन्म भएको नवजात शिशुलाई डाक्टर कर्णले पाँच लाख लिएर बेचेको खुलेको हो ।
डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका – २ आदर्श टोलकी दिलमाया राजवंशीलाई नवजात शिशु बेचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । अविवाहित दम्पतीबाट जन्म भएको एक दिने शिशुलाई ती डाक्टरले कटहरी गाउँपालिकाको राजवंशीको छोरा –बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। डाक्टर कर्णले छ लाख लिएको खुलेका प्रहरी श्रोतले जनाएको छ।  दुई लाख रुपैयाँ हस्पिटलमा उपचारमा खर्च भएको दिलमायाले बयान दिएको प्रहरी श्रोतको दाबी छ ।
असार १३ गते अविवाहित महिलाले ग्रिन क्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डाक्टर कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको उनले वयानमा बताएकी छिन् । 
नवजात शिशु किन्ने राजवंशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शिशु बेच्ने डाक्टर कर्ण र शिशुका बाबु यसअघि नै पक्राउ गरिसकेको छ। डा. कर्णले यसअघि पनि शिशु विक्री गरेको सूचना आएको भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शिशुका बाबु भोजपुरका  २७ वर्षीय गोविन्द राई र डाक्टर कर्णलाई ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’  अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।