विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट एक जना बच्चा गायब पारिएको छ ।  अविवाहित युवतीबाट जन्मिएको बच्चा गायव भएको पारिएको हो ।

 घटनामा सम्लग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अन्दाजी ६८ वर्षीय डा. कर्ण र उनका प्रेमी (बच्चाको बाबु) भनिएका गोविन्दलाई पक्राउ गरेको छ । 

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए । उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन् ।

 प्रहरीका अनुसार २६ वर्षीया युवतीले सोही अस्पतालमा नवजात शिशु (छोरी) जन्माएकी थिइन् । 

प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्टै उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिएकी हुन् । 

प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।

 दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

 उनका अनुसार सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लिएर गएको खुलेको छ ।

उक्त क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरेका थिए । लगत्तै उनले युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गरेको पाइएको डीएसपी दाहालले बताए ।वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ ।

 ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् । 

‘बच्चा बिना नै टेम्पोमा राखेर उहाँ(गोविन्द)ले मलाई इटहरी पु¥याउनु भयो । बसपार्क छेउको होटलमा कोठा लिएर राख्नु भयो । बच्चा खोइभन्दा अस्पतालमै छ भन्नु भयो । दुई दिनपछि (असार १६ गते) मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनु भयो ।

 

त्यसपछि फर्किएर आउनु भएन । होटलको नाम मलाई थाहा छैन,’ टेलिफोन सम्पर्कमा युवतीले भनिन् । होटलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको उनले सुनाइन् । 

उनले गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको बताइन् ।

‘मैले जिउँदै बच्चा जन्माएकी हुँ । छोरी जन्मिएको भनेर नर्सहरुले भने । पछि डिस्चार्ज गर्दा बच्चा दिएनन् । 

गोविन्दले नै बच्चा राख्ने व्यवस्था मिलाएजस्तो लाग्यो,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन । अस्पतालबाटै गायव बनाइयो । सुत्केरी अवस्थामा गोविन्दले पनि छाडेर हिँडेपछि अलपत्र परें । धेरै पीडा सहेर बसें ।’ बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायव बनाएको गुनासो उनको छ । 

होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सक र प्रेमविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् ।

 युवतीले मिलेमतोमा बच्चा गायव बनाइएकाले खोजी पाउँ भनेर माग पनि गरेकी छन् । उनले बच्चा नर्सहरुले लिएर गएको र त्यसपछि आफूले नदेखेको बताइन् । ‘बच्चा जन्मिएपछि नर्सहरुले लिएर गएको थाहा छ । अरु थाहा छैन,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा आजसम्म पाइँन ।’

उनले गोविन्दसँग २ वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने योजनामा रहेको पनि सुनाइन् ।