इटहरी । इटहरीका एक व्यवसायीले सलिको इन्स्योरेन्स कम्पनीले बिमा बापतको क्षतिपुर्ति नदिएको गुनासो गरेका छन् । 

इटहरी ९मा रहेको कुबेर एण्ड सन्स ट्रेड प्रा.लिका सञ्चालक जे.पी. घिमिरले सलिको कम्पनीले बाढिमा भएको डुबानबाट व्यवसायमा पुगेको क्षति वापतको क्षतिपुर्ति नपाएको गुनासो गरेका हुन । 

२०७९ साल असार १४ गते टेँग्रा खोलामा आएको बाढिले कम्पनीको गोदाम डुबानमा परेको थियो । गोदाममा राखिएका मिल मेसिनरी सामानमा क्षति पुगेको घिमिरेको भनाई छ ।

 डुबानबाट गोदाममा राखिएका सामान मध्ये ४६ लाख बढिको मिलमेसिनरी सहित अन्य सामाग्रीमा क्षति पुगेको उनले दावी गरेका छन् । 

सञ्चालक घिमिरले क्षति वापत पाउनुपर्ने बिमा दावी गर्दा पनि इन्स्योरेन्स कम्पनीले क्षतिपुर्ति नदिएको बताएका छन् । क्षति वापतको रकम माग गर्दा कम्पनीले विभिन्न बाहना बनाउँदै टार्ने गरेको गुनासो गरेका छन् ।

 क्षति वापतको रकम माग गर्दा लामो समय देखी झुलाएर राखेको र हाल सम्म कुनै क्षतिपुर्ति नदिएको बताएका छन् । 

गोदाम डुबानमा परेको १० महिना पछि २०८० बैशाख २४ गते सलिको कम्पनीले क्षतिवापत ८ लाख ५४ हजार ४६ रुपैँया रकम लिन चिठि पठाएको थियो । 

तर सञ्चालक घिमिरेले दावी भन्दा अत्यन्तै कम क्षतिवापतको रकम दिएको भन्दै लिन अस्विकार गरेका छन् ।

 रकम लिन अस्विकार गरेपछि सलिको इन्स्योरेन्स कम्पनीका इटहरीका शाखाका प्रमुखले १ लाख थप गरिदिने मिलौ भनेर दबाव दिएको सञ्चालक जे.पि घिमिरले बताएका छन् । 

‘ क्षतिवापतको रकम निकै कम आएपछि लिन मैले अस्विकार गरेँ’ सञ्चालक जे.पी घिमिरले भने,‘त्यसपछि इटहरीका ब्रान्च प्रमुख आएर १ लाख थपिदिन्छु मिलीदिनुस भनेर दबाव दिएका थिए । मैले पनि उल्टै १ लाख म दिन्छु तपाईलाई भन्दै पठाएँ ’ 

मैले नियमित रुपमा विमाको प्रिमियम तिरेपछि कानुनी हिसाबले पाउनुपर्ने हक अधिकार पाउनुपर्ने उनको तर्क छ । तर इटहरी शाखाका प्रमुखले बार्गेनिङ गरेको उनको दावी छ । 

saliko

कुबेर एण्ड सन्स प्रा.लिको नाममा तत्कालिन लुम्बीनी इन्स्योरेन्स कम्पनीमा १११०९२१÷२२१२०००१३८ को विमालेखमा  २ करोड बराबरको गोदामको बिमा गरेका छन् । अहिले लुम्बिनी इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्यारेन्स कम्पनी मर्ज भएर सलिका इन्स्यारेन्स कम्पनी भएको छ । 

बिमा वापतको प्रिमियम नियम अनुसार तिरेको उनको दाबी छ । तर कम्पनीले क्षति वापतको रकम लिने बेलमा विभिन्न बाहना बनाउँदै झुलाउँदै दुःख दिएको बताएका छन् । 

डुबानमा परेको समयमा कम्पनीले सर्वेयर पठाएर क्षतिको विवरण संकलन गरेको थियो । कम्पनीको काठमाण्डौँबाट आएका सर्वेयरले डुबानमा परेका सामाग्रीको प्रत्येक बक्सा खोलेर चेकजाँच गर्दै लगेको थियो । 

सर्वेयरले घटना भएको १० महिना पछि क्षतिको रिर्पोट दिएको थियो । क्षतिको रिपोर्टमा ८ लाख ५४ हजार ४६ रुपैँया मात्र दावी भुक्तानी दिन रिपोर्ट दिएको सञ्चालक घिमिरले बताएका छन् । 

सो रिपोटमा चित्त नबुझेर के आधारमा कम क्षति मुल्यांकन आयो भनी विवरण माग्दा कुनै विवरण हाल सम्म नदिएको व्यवसायी घिमिरले बताए ।

यता,सलिको इन्स्योरेन्स कम्पनी इटहरी शाखाका प्रमुख अर्जुन पौडेले सर्वेयर रिपोर्टका आधारमा क्षतिपुर्तिको रकम दिने कम्पनीको नियम अनुसार नै काम भएको बताएका छन् । 

काठमाण्डौँबाट आएको सर्वेयरले नै क्षतिको मुल्यांकन गरेको उनको भनाई छ । मुल्यांकन गर्दा मेसिनरी सामानको स्क्राप तथा स्याल्वेज भ्यालुलाई घटाएर मुल्यांकन हुने शाखा प्रमुख पौडेले जानकारी दिए । 

कम्पनीले दिएको रिपोर्टको आधारमा रकम उपलब्ध गराउने कुरामा व्यवसायी जेपि घिमिरले असन्तुष्टि जनाउनुभएको उनले बताएका छन् । यो विषयमा कम्पनीको केन्द्रीय कार्यालयमा समन्वय गरी समस्या समाधानका लागिस पहल भईरहेको उनले जानकारी दिएका छन् ।