सुनसरी । डेंगीको तीव्र महामारी फैलिएको सुनसरीको धरानमा थप दुई जनाको मृत्यु भएको छ । यो सँगै धरानमा डेंगीबाट मृत्यु हुनेको सङ्ख्या ११ जना पुगेको छ ।
तीमध्ये एक जना उदयपुरको कटारी नगरपालिकाकी महिला र बाँकी सबै धरान निवासी रहेका छन् । । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १५ की ४६ वर्षीय एक जना महिलाको साउन १७ गते र धरान ११ का २१ वर्षीय पुरुषको साउन १८ गते मृत्यु भएको हो । उनीहरू दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै जनाको १० दिनअघिनै मृत्यु भए पनि गयराती मात्रै डेंगीकै कारणले मृत्यु भएको पुष्टि भएको मेहेताले बताए ।
झन्डै १० हजारभन्दा बढी डेंगी सङ्क्रमित रहेको धरानमा परीक्षण गर्नेमध्ये अहिले ७१ प्रतिशत भन्दा बढीमा डेंगी सङ्क्रमण पुष्टि हुने गरेको छ । धरानका २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् ।
सङ्क्रमित बढ्दै गएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीको चाप थेग्न गाह्रो भएको छ । निजी क्लिनिकमा पनि बिरामीको निकै चाप छ ।
बिरामीको चाप बढेपछि अधिकांश वडा कार्यालयले पनि आफ्नै पहलमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याए पनि त्यो पर्याप्त हुन सकेको छैन ।