सुनसरी । डेंगी रोगको महामारी फैलिएको सुनसरीको धरानलाई जनस्वास्थ्यको आपतकालीन घोषणा गर्न सरकारसँग माग गरिएको छ । जिल्ला बिपत व्यवस्थापन समितिको शुक्रवार बिहान बसेको बैठकले धरान उपमहानगरपालिकालाई आपतकालीन अवस्था घोषणा गर्न गृह मन्त्रालय तथा कोसी प्रदेश सरकारलाई आग्रह गरेको हो । 
डेंगी सङ्क्रमणले सुनसरीका १२ वटै स्थानीय तहहहरुमा ८ हजार ४ सय ९२ जना बिरामी हुनुका साथै धरानमा मात्र ९ जनाको मृत्यु भएकोले आपतकालीन अवस्था घोषणा गर्न सङ्घीय र प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन । डेंगी रोगको तीव्र सङ्क्रमण फैलिरहेको हुनाले धरानलाई घोषणाका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य कार्यालय सुनसरीले साउन २१ गते आग्रह गरेको थियो ।
उक्त आग्रहलाई सोही दिन बसेको जिल्ला सुरक्षा समितिको बैठकवाट समेत निर्णय भएकोले धरानलाई स्वास्थ्य आपतकालीन घोषणा गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन । डेंगीको महामारी फैलिएको दुई महिना बितिसक्दा पनि प्रदेश र सङ्घीय सरकारबाट सहयोग नभएको भन्दै आलोचना भएको छ ।
यस्तै महामारीको रुपमा फैलिएको डेंगीको प्रकोप नियन्त्रणमा तीन तहको सरकार बिच समन्वय अभाव समेत देखिएको छ । डेंगीको प्रकोप महामारीकै रुपमा फैलिएर ९ जनाको मृत्यु हुनुको साथै चार हजार भन्दा बढी सङ्क्रमित भएको धरानमा सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय नहुदा नियन्त्रणमा चुनौती देखिएको हो ।